काठमाडाैं- टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्न पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) जापान प्रस्थान गरेका छन्।
ओलम्पिकका लागि एलेक्स र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। जापान पुगेर उनले टोकुशिमामा अभ्यास गर्नेछन्।
यता, अर्की पौडी खेलाडी गौरिका सिंह भने बेलायतबाटै जापान जानेछिन्।
टोकुशिमामा दुई साता अभ्यास गरेपछि दुई पौडी खेलाडीहरू २० जुलाईमा ओलम्पिक भिलेजमा पुग्नेछन्। दुवै खेलाडीले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।
१३औं सागमा पदकविहीन भएका एलेक्सले नेपाली पौडी टिमको पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए। जसका कारण उनी ओलम्पिकको वाइल्ड कार्डका लागि सिफारिश भएका थिए।
गौरिकाले भने १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक जितेकी थिइन्। यस्तै, उनी आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्न सफल भएकी थिइन्।
टोकियो ओलम्पिकमा एलेक्स र गौरिकासँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले पनि नेपालको प्रतिनिधित्व गर्ने छन्।
ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।