काठमाडाैं- काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद्को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ।
सोमबार महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख रवीन्द्रमान श्रेष्ठले भोलिका दिनमा आइपर्नसक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए। नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनले बताए।
बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि तयार रहेको उनले बताए। आवश्यक जनशक्ति र सामग्रीहरु पनि तयारी अवस्थामा रहेको उनले जानकारी दिए। धोविखोला, बल्खु खोला, बागमती, विष्णुमती नदीका किनारहरुमा डुबान हुने कुरालाई ध्यान दिँदै त्यहाँ विपद् प्रतिकार्यका काम सुरु गरिएको श्रेष्ठले बताए।
उनले भने, 'नदी सरसफाइको कार्यहरु केही ठाउँमा गरेको छ र कति ठाउँमा लोकल र वडाहरुबाट पनि सिफारिस आउँछ। यो नदी सफा गरिदिनुपर्यो डुबान हुन्छ भनेर। हामीले कहीँ पनि डुबान भएछ, पानि भरिइरहेको छ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौँ। जनशक्तिमा हाम्रो नगर प्रहरीहरु पनि छन् र दमकल पनि चालु हालतमा छ। हाम्रो गाडी, म्यानपावर, इक्युपमेन्टहरु पनि तयारी हालतमा राखेका छौँ।'
उनले बाढी आएको खण्डमा २०० जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए। र्यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनले बताए। रेनकोट, बत्ती, गल, रुख काट्ने औजार र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।