फाइल तस्वीर काठमाडाैं- नेपाल भलिबल संघले महिला एसियन भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणबाट पहिलो चरणमा बाहिरिएका खेलाडीलाई नगद रकमसहित बिदाइ गर्ने भएकाे छ।
संघको शनिबार बसेको कार्यसम्पादन समितिले ९ खेलाडीलाई नगद ५ हजार रुपैयाँको दरले दिने निर्यय गरेको संघका उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन्।
भदौ १३ देखि २० सम्म फिलिपिन्समा हुने प्रतियाेगिताका लागि प्रारम्भिक टोलीमा ३० खेलाडी घोषणा गरिएको थियाे। तर, नेपाल प्रहरीका पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ प्रशिक्षणमा सहभागि भएका थिएनन्।
प्रशिक्षणमा रहेका २७ खेलाडीबाट शनिबारै संघले थप ९ खेलाडीलाई बाहिर राख्दै १८ सदस्यीय टोली घोषणा गरेको थियाे। अब केही साता टोलीले प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुनेछ।
यसपटक टोलीमा सेटर कमला पुन र मिडल ब्लकर हिरा केसीले स्थान बनाउन सकेनन्। यस्तै, रिमा कुँवर, पुजा चौधरी, सरस्वती कट्टेल, झरना श्रेष्ठ, संगम महतो, वाल्मिका आचार्य र सृष्टि खड्गीले पनि स्थान बनाउन सकेनन्।
‘कम्तीमा बाहिरिने खेलाडीलाई पनि नराम्रो नलागोस् भनेर ५ हजार दिने निर्णय गरेका हौं। उपत्यका बाहिरका खेलाडीलाई यातायात खर्च समेत दिएका छाैं,’ उनले भनिन्।
उनका अनुसार सरस्वतीलाई ९ र रिया लाई ७ हजार यातायात खर्च दिइने छ। अन्यले ५/५ हजार पाउनेछन्।
नेपालले पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्दैछ।
च्याम्पियनसिपमा फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया, भारत, नेपाल र उज्वेकिस्तान, हङकङले भाग लिने छन्।
छनोट भएका १८ खेलाडी
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, रिया कुँवर, लक्ष्मी चन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।