गोरखाको सिरानचोक गाउँपालिका–७ मा शनिबार बिहान गएको पहिरो, तस्वीर– जिल्ला प्रहरी कार्यालय गोरखा
काठमाडौं– देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण धेरै ठाउँमा अहिले वर्षा भइरहेको छ। वर्षासँगै आएको बाढी र पहिरोमा परेर पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ।
अविरल वर्षासँगै शनिबार बिहान खसेको पहिरोमा पुरिएर गोरखामा एकै परिवारका २ जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर ८६ वर्षीय रमन पाण्डे र उनकी श्रीमती ६८ वर्षीया नन्दकुमार पाण्डेको मृत्यु भएको हो।
६० मिटर माथिबाट खसेको पहिरोले पुरेर घरमा रहेका दम्पत्तिको मृत्यु भएको हो। रिसानचोक गाउँपालिका–७ का वडाध्यक्ष सुरज ढकालका अनुसार घरमा दुईजना श्रीमान्–श्रीमती मात्रै बस्दै आएका थिए।
गोरखामै खोलाले बगाएर अर्का १ जना युवकको मृत्यु भएको छ। अरुघाट गाउँपालिका–३ सोतीस्थित फुङ्गी खोलाले बगाउँदा आरुघाट–१ श्यामचेतका किरण लामाको मृत्यु भएको हो।
बिहान खोला तर्ने फुङ्गी खोलामा आएको भेलले बगाएर किरणलाई करिब २० मिटर तल पुर्याएको थियो। बेहोस अवस्थामा किरणको उद्दार गरी स्थानीयले उनलाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए। तर, चिकित्सकले बिहान ११ बजे किरणलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।
शुक्रबार राति पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सडक माथिबाट पहिरो खस्दा गुडिरहेका गाडीमा सवार २ जनाको मृत्यु भएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सडक माथिबाट खसेको पहिरोमा ६ वटा सवारी साधन पुरिएका छन्।
काठमाडौं आउँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रक माथि पहिरो खस्दा सहचालक चितवन घर भएका दोर्जे भनिने बिरबल प्रजाको मृत्यु भएको छ। यस्तै, ना ७ ख ३२० नम्बरको केन्टनरमा सवार भारत घर भएकी सोनी देवीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। चेपाङको शव ट्रकमा च्यापिएको अवस्थामा छ भने भारतीय नागरिक सोनी देवीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
पहिरोले बा १२ च ७१५६ नम्बरको भ्यान, ना ७ख ३२० नम्बरको कन्टेनर, भारतीय नम्बरप्लेट टीएन २८ एए– ०१२० को ट्रक, बा १ ग २८३१ नम्बरको र ना ८ ख ४५४० नम्बरको ट्रकमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
शनिबार दिउँसो उदयपुरको चौदण्डी नगरपालिका–७ बेल्टारस्थित द्वार खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। खोला तर्ने क्रममा बगेर चोदण्डी नगरपालिका–६ बेल्टारका ६५ वर्षीय गुमेश्वर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
मनसुन सक्रिय भएयता ४० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा मृत्यु भएका ६ जनासँगै यस वर्ष मनसुन सक्रिय भएपछि असार महिना यता मात्रै बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार असारयता २१ जना पुरुष, ११ जना महिला, ३ बाल र २ बालिकाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो।
गत असारयता बाढी तथा पहिरोमा परी सिन्धुपाल्चोकमा ५, गोरखामा ४, डोटीमा ४, रोल्पामा ३ जनाको मृत्यु भएको छ। यस्तै, धादिङ, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना तथा उदयपुर, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचचर, बझाङ र बाजुरा जिल्लामा १/१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
बाढी तथा पहिरोमा परेर अझै २४ जना बेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना अझै बेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।