काठमाडौं- आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान गरिएको छ।
बागमती, पूर्वी राप्ती लगायतमा बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको छ। कोशी, नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको छ। नारायणीका सहायक नदी मर्स्याङदी, बिमलनगर र पूर्वी राप्ती, रजैयामा जलसतहले सतर्कता तह पार गरेको तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशुली, बुढिगण्डकी, कालिगण्डकी, मर्स्याङदी लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, कन्काई र कमला जलाधारका स-सना सहायक नदीहरुमा बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने तथा बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भई बहाब बढ्ने र खतरा तह आसपास रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौं, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, लुम्बिनी प्रदेशको रुपन्देही, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव आइ सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।