काठमाडौं- अविरल वर्षाले देशका विभिन्न नदीहरुमा बाढी आएको छ। जसमध्ये केहीले सतर्कता तह पार गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार विहान ७ बजेसम्म इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले नदीहरुमा पानीको बहाब उच्च बनेको छ।
मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले राति सम्म उच्च सतर्कता अपनाउन महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। तनहुँको बिमलनगरस्थित मर्स्याङ्गदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना छ।
लमजुङ्गको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ। दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना, तटीय क्षेत्रहरू तथा पहिरो जानसक्ने भिरालो जमिनमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
गोरखाको बारपाक र लमजुङ्गको घारेढुङ्गा वर्षामापन केन्द्रमा भारी वर्षा भएको तथा दरौंदी खोलाको नयाँसाँघु जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ।
मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेकाले नदी तटीय क्षेत्रहरूमा हुनेहरू भोलि बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
मकवानपुरस्थित दामन र चिसापानीगढी वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकोले ससाना खोलामा आकस्मिक बहाव आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।