काठमाडौं- देशको अधिकांश स्थानमा वर्षा जारी रहेसँगै नदीहरुमा जलसतह बढेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ।
तनहुँको बिमलनगरस्थित मर्स्याङदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
त्यस्तै बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहावको जोखिम रहेको जनाइएको छ।
लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।