नेपाली युवा धावक गोपीचन्द्र पार्की गत वर्षदेखि नै ट्रयाकमा व्यस्त थिए। उनलाई न दिन गएको पत्तो हुन्थ्यो न रात परेको। दैनिक ८ देखि ९ घण्टासम्म दौडिइरहे उनी। न भोक, न तिर्खा, न थकाई। शोक वा सुर्ता जे भनेपनि त्यही दौड।
उनी यसरी एकोहोरो बन्नुको कारण थियो, करिब १८ दिनपछि जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक। विश्व खेलकुदको महाकुम्भ ओलम्पिक जोकोही नेपाली खेलाडीका लागि असाध्यै ठूलो सपना हो।
नेपाली खेलाडीका लागि त ८ देश सम्मिलित दक्षिण एशियाली खेलकुद (साग) खेल्नु नै ठूलो कुरा हो। २०७२ सालमै प्रधानसेनापति कप दौड जितेपश्चात लगातार विभिन्न प्रतियोगितामा सहभागी बनेर उपाधि जित्दै आएका गोपी त्योभन्दा धेरै माथि पुग्न चाहन्थे।
हुन त उनले २०६८ देखि नै ओलम्पिकमा पुग्छु भन्ने लक्ष्य राखेका थिए, जतिबेला राष्ट्रिय टिममा आइसकेका थिएनन्। तर, ओलम्पिक पुग्न कहाँ सजिलो थियाे र? २०७२ मा उनीभन्दा राम्रो गरेका हरि रिमालले अवसर पाए।
त्यसपछि लगातार आफूलाई अब्बल सावित गर्दै आएका गोपीले दुई वर्ष अगाडि नेपालमै आयोजना भएको १३औं सागको ५ हजार मिटर दौडमा स्वर्ण पदक जिते। उनको त्यतिखेरको बेस्ट टाइम थियो १४ मिनेट ५४.२० सेकेन्ड। सागमै स्वर्ण हात पारेका गोपी उसै फुरुङ्ग भए। उनको मनमा सागभन्दा माथिल्लो स्तरको प्रतियोगिता खेल्न सक्छु भन्ने आशा पलायो।
००००००
सागपछि गोपीले नेपालका विभिन्न स्थानमा आयोजना भएका चार वटा म्याराथनमा सहभागीता जनाए। कडा मिहिनेतकै परिणाम उनले ती सबैमा उपाधि चुमे। गतवर्ष मंसिरमा नेपालगञ्जमा आयोजना भएको ‘नेपालगञ्ज म्याराथन’मा पनि उनले भाग लिए। त्यसको एउटै कारण थियो, टोकियो ओलम्पिक छनोट। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनलाई टोकियो ओलम्पिकको आन्तरिक छनोटको मान्यता दिएको थियो।
गोपीमा आत्मविश्वास थियो। सागमै स्वर्ण जितेका गोपीलाई आफू अरुभन्दा अब्बल छु भनेर प्रमाणित गरिरहनुपर्ने जरुरी थिएन, तैपनि उनले यसलाई यो आफ्नो सपनाको एक महत्वपूर्ण हिस्सा ठाने।
गोपीले निर्धारित ४२.१९५ किलोमिटर दुरीको दौडमा स्वर्ण पदक जिते। उनको बेस्ट टाइम थियो, २ घण्टा १८ मिनेट ५९ सेकेन्ड। यो नेपालमा भएका म्याराथनमध्ये कुनै पनि खेलाडीले दौड पूरा गर्न लगाएको छोटो समयमध्ये हो।
सन् १९८७ मा भएको तेस्रो दक्षिण एशियाली खेलकुदमा म्याराथनका लेजेण्ड बैकुण्ठ मानन्धरले २ घण्टा १५ मिनेट ३ सेकेण्डको कीर्तिमान राखेका थिए। यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन।
‘त्यो मेरो अहिलेसम्मकै उच्च प्रदर्शन रह्यो। म गुरुको रेकर्ड तोड्छु भनेरै दौडिएको थिएँ। सफल त भइनँ तर, मिहिनेत अनुसारको फल पाउँदा म निश्चय नै खुशी थिएँ,’ उनी भन्छन्।
ओलम्पिकको लागि युनिभर्सल कोटाबाट ढोका खुलेपछि उनलाई साथीभाइ, आफन्त र शुभचिन्तको फोन थामिनसक्नु भयो। लाग्यो, अब म सहभागीता जनाउन पाउने भएँ। त्यसबाट उनलाई अविश्वसनीय सपना साकार भए झैं लाग्यो।
‘खेलाडी जीवनमा ओलम्पिक यात्रालाई एक सर्वाधिक मूल्यवान र अविस्मरणीय मानिन्छ। हर खेलाडीले ओलम्पिकमा सहभागी हुने सपना देखेको हुन्छ, ममा पनि थियो। त्यो दौड जित्ने नै टोकियो ओलम्पिकमा छनोट हुने भएकाले म अझै ढुक्क भएँ। मलाई लागेको थियो यो मेरो ठूलो उपलब्धि हो। म त्यो प्रतियोगितामा गुरु बैकुण्ठ मानन्धरको कीर्तिमान तोड्छु भन्नेमा थिएँ,’ उनी भन्छन्।
००००००
ओलम्पिकसम्मको यात्रा तय गर्नका लागि खेलाडीको मिहिनेत मात्र नभइ त्याग, तपस्या र थोरै भाग्यको पनि साथ चाहिन्छ। त्यसैले त ओलम्पिकको भब्य माहोलमा उभिनु अगाडि उनी काठमाडौं आए। उनी आउँदा कोरोना महामारी पनि सुरु भयो। विभागीय टोलीबाट खेल्ने भएकाले उनले स्वयम्भुस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को हेडक्वार्टरमा सन्तोष श्रेष्ठको प्रशिक्षणमा निरन्तर अभ्यास गरिरहे।
‘जुन विधा पाए पनि खेल्छु भनेर तयारी गरें, आफ्नो शतप्रतिशत दिएकै हाे। त्यसैले केही गर्छु भनेर यसलाई महामारीमा पनि निरन्तरता दिएँ। म्याराथन भएको कारण धेरै मेहनत गर्नु नै पर्थो, त्यसैले राति १ बजे उठेर कुदेर जुत्तासमेत खियाएँ,’ उनी विगत सम्झिँदै भन्छन्।
ओलम्पिकका लागि छनोट भएसँगै गोपीले नेपाल ओलम्पिक कमिटी (एनओसी)को पहलमा जापानमै तीन महिनासम्म अभ्यासका लागि छात्रवृतिसमेत पाए। तर, कोरोनाको दोस्रो लहर बढेसँगै जापान सरकारले अन्तराष्ट्रिय भिसामा रोक लगाएपछि उनी एक कदम पछाडि हट्नुपर्याे।
‘दुःख लाग्छ, एक अवसर पाएको सदुपयोग हुन सकेन। कोरोना बाधक बनेको कारण जापान जाने, बाहिरी मुलुकको खेलकुद माहोललाई बुझ्ने र आफूमा भएको कमजोरीलाई सुधार्ने अवसर पाइनँ। यसबाट ओलम्पिकमा मेरो प्रदर्शनमा केही प्रभाव पर्छ कि भन्ने लागेको थियो,’ उनी भन्छन्।
आर्थिक अवस्था सबल नभएका निम्नमध्यम वर्गीय परिवारका गोपीलाई त्यसले थप समस्या थोपर्याे। स्वदेशमै तयारी गर्दा डाइटिङ्गदेखि सम्पूर्ण जोहो आफैंले गर्नुपर्ने भयो। साथीभाइ, चिनेजानेकाबाट उनले ऋणसमेत लिन थाले।
‘अभ्यासका लागि जापान जान पाएको भए अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) बाटै डाइटिङ्गदेखि लिएर सम्पूर्ण पक्षमा सुविधायुक्त रुपमा अभ्यास गर्ने अवसर पाउने थिएँ। मैले आफूलाई त्यही अनुरुप तयारी अवस्थामा राख्थें। तर, जापान जान नपाएपछि फिट राख्न मैले ऋण काढें,’ गोपीले नेपाल लाइभसँगको कुराकानीमा भने।
दालभातको भरमा दौडिने अवस्था नरहेकाले उनको खर्च निकै बढ्यो। तर, सपना पूरा गर्न लागेको ऋण हेरेनन् उनले, निरन्तर अभ्यास गरिरहे। उता दौडिँदा लगाउने सामग्री पनि निकै खर्चिलो थियो। तर, उनले सपनाको अगाडि त्यसलाई पनि देखेनन्।
‘याे बीचमा खर्च ७/८ लाख पुगिसेकाे थियाे। महिनाको ६०/७० हजार ब्याज तिर्ने गरि मैले ऋण काढेरै मिहिनेत गरें। अमेरिकादेखि २ जोर जुत्ता मोजा १ लाख ७५ हजारमा मगाएको थिएँ। ओलम्पिक सुरु हुनै लाग्दा त्यो पनि आइपुगेको थियो। त्यही लगाएर दाैडिने सपना ममा थियाे,’ उनले भने।
गोपीको तयारीका लागि गत चैतदेखि एनओसीले डाइटिङदेखि अन्य खर्चका लागि मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउन थालेपछि उनलाई केही राहत मिल्यो।
ओलम्पिक तयारीका लागि त्यति रकम केही नभएपनि थोरै भरथेग गरेको थियो। खेलुकद क्षेत्र अझै पनि नेपाल सरकारको प्राथमिकतामा पर्न नसक्नुको कारण पनि नेपाली खेलाडीले यस्ता समस्या भोग्दै आएका छन्। तर, गोपी आफ्नो तर्फबाट शतप्रतिशत दिएर अभ्यासमा लागिरहेका थिए।
तर, यसरी भत्कियो सपना
सागमा स्वर्णको सपना पूरा गरेका गोपीले ओलम्पिकमा कीर्तिमान राख्ने सपना बुनिसकेका थिए। ओलम्पिकमा ४२ दशमलब १९५ किलोमिटर दुरीको दौड कम्तीमा २ घण्टा १४ मिनट अवधिभित्र सम्पन्न गरी किर्तिमानी धावक बैकुण्ठ मानन्धरको ३५ वर्षे रेकर्ड तोड्ने हुटहुटी थियो उनमा। सपनामा पनि कीर्तिमान तोडेकै देख्थे।
सकेसम्म पदक नै ल्याउने, नकसे मानन्धरको रेकर्ड जुनसुकै हालतमा तोड्ने लक्ष्य थियो।
तर, अन्तिम समयमा एनओसी नै उनको यो सपनाको खलनायक बनिदियो। नेपालबाट ओलम्पिकमा भाग लिने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गत बुधबारबाट सोल्टी होटलमा राख्ने व्यवस्था गरेको थियो।
राखेपतर्फबाट राष्ट्रिय टोली तयारी समितिका प्रमुख महेन्द्र राईलाई खेलाडीको व्यवस्थापनको जिम्मेवारी दिइएको थियो। उनले बुधबार बिहान १० बजेतिर गोपीलाई होटल आउन फाेन गरेर खबर पनि गरे। तर,पछि एनओसीले पठाएको सुचीमा नाम नदेखेपछि राईले उनलाई दिउँसो १ बजेतिर अहिले नआउनू भने।
‘सबै खेलाडीलाई त्यहाँ राख्ने भनेर मैले कपडादेखि सबै प्याकिङ गरिसकेको थिएँ। तर, अन्तिम समयमा मलाई नआउनू भनियो। मलाई किन नआउनू भनेको त मलाई थाहा भएन, तर मिडियामा आएअनुसार मेरो सट्टा अरु कोही ओलम्पिकमा भाग लिने भएको कारण मलाई नआउन भनिएको रहेछ,’ उनले भने।
ओलम्पिकमा जाने ५ खेलाडीमध्ये पौडीकी गौरिका सिंह बेलायतमै भएकाले बाँकी चार खेलाडी नेपालमा तयारी गरिरहेका थिए। युनिभर्सालिटी कोटामा पौडीकी गौरिका र एलेक्स शाह तथा एथलेटिक्सबाट गोपीको नाम रहेको एनओसीले जानकारी दिँदै आएको थियो। सुटिङकी कल्पना परिवार र जुडोकी सोनिया भट्टले वाइल्ड कार्ड पाएका थिए।
एलेक्स, कल्पना र सोनिया तथा उनीहरुका प्रशिक्षक भने बुधबारदेखि सोल्टी होटलमा बसेका छन्। ओलम्पिकमा जानु अघिसम्म उनीहरुलाई राखेपले होटलमै राख्ने बताएको छ।
तर,अनौठो तरिकाले आईओसीले सार्वजनिक गरेको छनोट खेलाडी सुचिमा गोपीको सट्टा एथ्लेटिक्सकी सरस्वती चौधरीको नाम आयो। उनी महिला १ सय मिटर दौडमा सहभागीता जनाउने भन्दै एनओसीले मिडियामा प्रचार गरेको छ।
त्यो गोपीले थाहा पाइसकेका थिए। त्यही रातदेखि उनी निदाउन सकेका छैनन्। ‘अवस्था शब्दमा बयान गरिसाध्य छैन। होटलमा जान भनेर प्याक गरेको लुगा अहिले पनि त्यतिकै छ। कसरी भयो? के भयो? मलाई केही थाहा छैन। ओलम्पिक तयारीकै लागि ऋण दिएका आफन्तहरु र परिवारसँग पनि फेस गर्न सकेको छैन। म निःशब्द छु। सबैले सोधेको सोध्यै गर्दा झन् निद्रा पर्दैन,’ उनले भने।
एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले एनओसीबाट महिला स्प्रिन्टरको माग भएपछि राम्रो समय भएको आधारमा सरस्वतीको नाम पठाएको बताए। ‘महिला स्प्रिन्टर नाम माग भएकोले उसैको नाम सिफारिश भएको हो। उनले दोहामा वल्र्ड च्याम्पियनसिप खेलेको थिइन् र उत्कृष्ट समय १२ः४८ सेकेन्ड हो।’
तर, गोपी यो दाबी मान्न तयार छैनन्। आफू ओलम्पिकमा भाग लिन योग्य भए पनि अहिले राजनीतिक चलखेलको शिकार आफू बनेको उनकाे ठम्माई छ।
‘यस अगाडी नेपालमा कैयौं खेलाडीले क्षमता हुँदाहुँदै पनि राजनीतिक चलखेलका कारण अवसरबाट बञ्चित बन्दै आएका धेरै उदाहरण थिए। तर, म नै यसको सिकार हुन्छु भनेर सोचेको थिइनँ। म एसियाकै उत्कृष्ट ८ मा पर्छु। सरस्वती कतिमा पर्छिन् मलाई जिम्मेवार निकायले देखाइदेओस्’, उनले भने।
एनओसीको भूमिका शंकास्पद
ओलम्पिकको लागि लामो समयदेखि तयारीमा रहेका गोपीको नाम अन्तिम समयमा आएर एनओसीकै तयारी सुचिमा नभएपछि अनेक शंका उब्जिएका छन्।
किनभने गोपी वाइल्ड कार्डमा ओलम्पिक खेल्न लागेका होइनन्। उनको सहभागीता सुनिश्चित नै थियो। तर, एकाएक उनको नाम नहुनुमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठमाथि शंका गर्ने ठाउँ बनेको छ। स्रोतका अनुसार उनलै आईओसीमा सहभागीको नाम बुझाउने जिम्मेवारी लिएका थिए। तर, उनले गोपीको नाम बुझाएनन्। उनको नाम काट्दै महिला स्प्रिन्टर खेलाडीको नाम मागे।
एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले भने, ‘केही दिन अघि मात्र ओलम्पिक कमिटीबाट महिला स्प्रिन्टरको नाम माग भएको थियो। त्यसमा हामीले सरस्वती चौधरीको नाम पठाएका हौं। अब बाँकी सबै ओलम्पिक कमिटीलाई नै थाहा हुन्छ। हामीलाई प्रश्न गर्ने ठाउँ छैन।’
यद्यपि, शाहले एथ्लेटिक्स अनिवार्य कोटा भएपनि म्याराथनका लागि छुट्टै ‘क्राइटेरिया’ रहेको हुनसक्ने बताए। ‘मलाई पनि अहिले सबै जानकारी आइसकेको छैन। तर, मलाई लाग्छ अनिवार्य कोटा भएपनि म्याराथनका लागि छुट्टै क्राइटेरिया होला,’ उनले भने।
यता, नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव मनीष जोशी ओलम्पिक सुरु हुनुभन्दा २० दिन अगाडी मात्रै कोटा परिवर्तन भएको जानकारी पठाएको भन्ने व्यहोराको पत्रमा नेपाल एथलेटिक्स संघका अध्यक्ष, राखेप सदस्य सचिव तथा ओलम्पिक कमिटीका अध्यक्षको सामुहिक हस्ताक्षरसहित दिइएको स्पष्टिकरणले यस विषयलाई अझै शंकास्पद र गैरजिम्मेवार कार्य भएको भन्ने शंकालाई पुष्टि गरेको बताउँछन्।
‘पत्रमा गोपीको सहभागीताका लागि अथक प्रयास गरिएको थियो भनिए पनि त्यसमा सत्यता छैन। यदि उनलाई समेट्न प्रयास गरेको भए स्पष्ट सुचना पारदर्शिता देखाउनु पर्ने थियो। खै त कहाँ देखाइयो?,’ उनले भने।
एनओसी, राखेप र नेपाल एथ्लेटिक्स संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गोपीले ओलम्पिकमा भाग लिन नपाउने सार्वजनिक गरेका थिए। सम्बन्धित खेलको महासंघको प्राविधिक कमिटीले म्याराथनको हकमा कोटाभन्दा बढी आवेदन परेकाले गोपीलाई सहभागी गराउन नसकेको विज्ञप्तीमा उल्लेख गरिएको थियो।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले गोपी टोकियो ओलम्पिक खेल्ने अवसरबाट वञ्चित हुनुलाई उनीमाथिको हदैसम्मको अन्याय र अपमान भएको बताए।
‘गोपी टोकियो ओलम्पिकका लागि छनोट भएका थिए। अहिले ओलम्पिक सुरु हुन ३ साताभन्दा कम समय बाँकी रहँदा बिहीबार मात्रै सहभागी हुन नपाउने जानकारी गराउँदा एउटा खेलाडी कस्तो अवस्थाबाट गुज्रिनु भएको होला भन्ने हामी खेलाडीहरुले महसुस गर्न सक्छौं। ८ महिनाभन्दा लामो समयदेखि तयारी गर्दागर्दै अन्त्यमा ओलम्पियन बन्ने सपना चकनाचुर भएको छ, गोपीप्रति घोर अन्याय र अपमान भएको छ,’ उनले भने।
के यो सबै एनओसीका महासचिव श्रेष्ठकै कारण भएको हो? हो भने उनले किन यसो गरे? त्यसको जानकारी किन गराइएन?
लाखौं खर्च गरेर तयारी गरेका गोपी आफैं नाजुक स्थितिमा छन् यतिखेर। उनको जीवनकै ठूलो सपना चकनाचुर भएको छ। ओलम्पिकको सपना देशका लागि पदक ल्याउनेभन्दा पनि ठूलो हुन्छ। यसले गोपीको मनस्थिति नै छियाछिया बनेको छ। तर, उनी डटेर अगाडि बढ्ने बताउँछन्।
‘भाग्यमा रहेनछ भनेर चित्त बुझाउँला। ऋण लागेको छ त्यो पनि कमाएर तिरौंला। तर, ममाथि गरिएको व्यवहार माफीयोग्य छैन। अब छनोट चरण पार गरेर जाउँला भन्ने छ। अब ओलम्पिकमा छनोट हुने कोशिश गर्नेछु। सास रहुन्जेल आश त गर्नै पर्यो नि !,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।