दाङ- दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सहलेखापाल विक्रम रानाले सहकारीको ५ करोड २७ लाख रुपैयाँ हिनामिना गरेका छन्।
रकम हिनामिनाको अभियोगमा पक्राउ परेपछि अघि बढेको मुद्दा प्रक्रियाअनुसार अहिले उनी पुर्पक्षका लागि थुनामा छन्। उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
२०७१ सालदेखि २०७७ सालसम्मको अवधिमा सहकारीमा आएको रेमिट्यान्सको रकम नक्कली खाता खोलेर रानाकै नेतृत्वमा हिनामिना गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यो प्रकरणमा सहकारी सञ्चालक समिति, ऋण समितिसहित लेखापरीक्षकहरु समेत गरी २० जनालाई पक्राउ अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
सहकारीको लेखापाल भएपछि देखिएको रानाको अपत्यारिलो जीवनशैलीले अन्ततः उनलाई यो हिनामिनाको प्रमुख अभियुक्तसम्म तानेको थियो। मासिक २५ हजार हाराहारी तलब भएका उनले फेरि फेरि गाडी चढ्ने, म्युजिक भिडियोमा लगानी गर्ने जस्ता गतिविधि गर्न थालेपछि धेरैलाई आश्चर्य लागेको थियो। त्यहीबेला सहकारीमा ठूलो रकम हिनामिना भएको पत्ता लागेपछि शंकाको सुई उनीतिरै सोझिएको थियो। ‘एउटा सामान्य कर्मचारीमा पनि यति ठूलो ठगीको योजना बन्दोरहेछ भन्ने अनुसन्धानका क्रममा खुल्दै गयो’, प्रहरी स्रोतले भन्यो, ‘अहिले उनले आफ्नो अपराध कबोल गरिसकेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।