काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल बडापत्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए।
सो डिजिटल बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्ने उनको भनाइ छ। आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ।
कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज दंगालले बताए। डिजिटल बडापत्रमा गाउँपालिकाको सम्पूर्ण जानकारीसमेत हेर्न सकिन्छ। गाँउपालिकाको कुनै शाखाले दिने सेवासम्बन्धी जानकारी लिनसमेत सोही बडापत्रको प्रयोग गर्न सकिने दंगलले जानकारी दिए।
यो डिजिटल बडापत्र अपाङ्गमैत्रीसमेत छ। यो बडापत्रको डिजिटल बोर्डमा आफूले चाहेको सेवामा थिचेपछि अडियो र भिडियो सन्देशमार्फत जानकारी प्राप्त हुन्छ। हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टि तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्दछन्। यस्तो प्रकारको डिजिटल बडापत्र सिन्धुपाल्चोक जिल्लामै पहिलो सञ्चालन गरेको अधिकृत दंगालले बताए।
डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाको जानकारीसमेत समेटिएको छ।
यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।