काठमाडौं– मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ।अहिले देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानमा स्थानहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
शुक्रबार दिनभर नै देशका अधिकांश स्थानमा निरन्तर वर्षा हुने महाशाखाले जनाएको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अधिकांश क्षेत्रमा केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले भूक्षय, पहिरो तथा उच्च बाढीको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मनसुन सुरु भएसँगै बाढीपहिरोका घटनासमेत बढ्न थालेका छन्। राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार यो वर्ष मनसुन सुरु भएयता बाढीपहिरोमा परी ३० जनाको ज्यान गएको छ, भने ३० जना बेपत्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।