फाइल तस्वीर
काठमाडौं– मंगलबार रातिदेखिको निरन्तर वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ वटा सडक अवरुद्ध बनेका छन्। बाढी र पहिरोले अहिलेसम्प पनि १४ वटा सडक ठप्प छन्।
पूर्व–पश्चिम राजमार्गको नवलपूरको थुम्सी, पितौजीमा अवरुद्ध छ। दुई साता पहिलेअघि नै अवरुद्ध भएको डुम्रे–बेशीशहर–चामे सडक पहिरोका कारण थप क्षतिग्रस्त बनेको छ।
हुलाकी राजमार्गअन्तर्गत बर्दियाको सत्तीघाट कर्णाली पुलमा सडक अवरुद्ध भएको छ। ठोरी–भरतपुर, नारायणघाट–मुग्लिन, आँबुखैरेनी–गोरखा सडक र आरुघाट–सिर्दिवास–रोइला सडक पनि अवरुद्ध छ।
राष्ट्रिय राजमार्गमा नै बाढी र पहिरोले अवरोध पुर्याएकामा विभिन्न सडकमा एकातर्फको पहिरो हटाएर सवारीसाधन चल्न थालेको छ। अरनिको राजमार्गको सखुवा, बिपी राजमार्गको माम्ति र कमेरे फाँटमा सडक एकातर्फी रुपमा चालु छ।
बुधबारदेखि नै अवरुद्ध बनेको पृथ्वी राजमार्गका धेरै ठाउँमा बिहीवार साँझसम्म एकातर्फको सडक खुलाएर सडक सुचारु गरिएको छ। राजमार्गको जोगीमारा–जवांग खोला खण्ड, एनापहरा, याम्पा, डुम्रे, देउराली, घाँसीकुवा, कुम्लेखोलालगायतका स्थानमा सडक आंशिक सुचारु अवस्थामा छन् ।
त्रिभुवन राजपथको टिस्टुङ–देउराली कालापानी सडक, सिद्धार्थ राजमार्गको सिद्धबाबा, र पूर्व–पश्चिम राजमार्गको खरंगामा पनि एकातर्फबाट मात्रै सडक सुचारु छ।
अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोक जिल्लाको कोदारीमा अवरुद्ध सडक अझै खुल्न सकेको छैन। रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला, गाँजाबारीमा पनि सडक अवरुद्ध छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।