काठमाडाैं– अर्को महिना आयोजना हुने टोकियो ओलम्पिक २०२० मा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन्।
यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने पक्का भए पनि अन्तिम समयमा धेरै सहभागी भएकाले उनको सट्टा चाैधरीलाई पठाउँन लागिएकाे हाे।
बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै गोपीचन्द्रको सहभागिता सम्भव नभएको र चौधरीले प्रतिस्पर्धा गर्ने जनाएका हुन्।
‘युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनको हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो,’ विज्ञप्तिमा भनिएको छ,’ कोटा अनुसार १०० मिटर दौडमा संघको सिफारिस अनुसार सहभागिता सुनिश्चित गर्नका लागि नेपालकी उत्कृष्ट खेलाडी सरस्वती चौधरीको नाम पठाइएको व्यहोरा जानकारी गराइन्छ ।’
यसअघि गोपीचन्द्र पार्कीको नाम युनिभर्सिटी प्लेसअन्तर्गत म्याराथन विधामा सहभागी गराउन लङ लिस्टमा पठाइएको थियो। त्यसै अनुसार पार्कीले तयारी समेत गरेका थिए। तर अन्तिम समयमा आएर उनी ओलम्पिक खेल्न बञ्चित हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।