काठमाडाैं- नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले तत्कालीन अध्यक्ष सञ्जीव थापा र कोषाध्यक्ष भक्त खवासलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ। नेतृत्वमा रहँदा आर्थिक अनियमितता गरेकाे भन्दै १० असारमा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो।
थापा नेतृत्वमा रहँदा केन्द्रीय गोदामघर खरिद गर्ने क्रममा अनियमितता गरेको, रक्त संचार भवन निमार्णको ठेक्का प्रक्रियामा बोलपत्रको शर्त तथा नियम विपरित ठेक्का स्वीकृत गरेको तथा भूकम्प प्रतिकार्य कार्यक्रमका लागि वैदेशिक सहायता प्राप्त रकममा भूकम्प प्रतिकार्य सञ्चालन समिति गठन गरेर मासिक रुपमा मोटो रकम लिएको नेरेसोले जनाएकाे छ।
उपकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा गठन गरिएकाे छानबिन समितिले केन्द्रीय रक्त संचार भवन निमार्णको लागि गरिएको बोलपत्रदेखि अन्तिम स्वीकृतीसम्मको अध्ययन गर्न संरचनात्मक इन्जिनियर र कर्पोरेट लयरबाट प्रतिवेदन लिएको थियो।
दुवैको प्रतिवेदनले बाेलपत्रको शर्त तथा नियम विपरित, प्रचलित कानुन विपरित तथा नेरेसोको आर्थिक नियमावली विपरित वोलपत्र स्वीकृत गरी प्रक्रिया मिचेको र खराव मनशाय राखेर स्वीकृत गरेको समितिले ठहर गरेको छ। त्यसैगरी भक्तपुरस्थित खरीद गरिएको केन्द्रीय गोदामघरको जग्गामा समेत अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।
यस अगाडी जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जग्गा खरिदका सन्दर्भमा लिएको बयानमा विचौलिया राजेश देशेमरुले करिव २ करोड रुपैयाँ आफूले कमाएको स्वीकार गरेका थिए। सो रकम अनियमितता ठहर गरी केन्द्रीय अनुसन्धान ब्यूराेलाई संस्थाले ठगी मुद्धा चलाउन सिफारिस गरेको थियो।
समाज कल्याण परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयबाट चार्टर्ड एकाउन्टेट कृष्ण आचार्यको संयोजकत्वको हिसाव जाँच विज्ञ समूहले पनि जग्गा खरिद र रक्त संचार भवन निमार्णमा प्रक्रियागत त्रुटि रहेको ठहर गरेको थियो।
नेरेसो तदर्थ समितिले कार्यसमितिको बैठकका निर्णय अनुसार विभिन्न प्रतिवेदनसहित कारबाहीकाे लागि जिल्ला प्रशासन कार्यालय काठमाडाैं, गृह मन्त्रालय तथा केन्द्रीय अनुसन्धान ब्यूराेलाई निवेदन दिएको अध्यक्ष डा नेत्रप्रसाद तिमल्सिनाले बताए।
जग्गा खरिद तथा भवन निमार्ण प्रक्रियामा संलग्न रही अन्तिम स्वीकृत गर्ने संलग्नहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउन शुरु गरिएको उनकाे भनाइ छ। यस्तै, सामाजिक संस्थाका पदाधिकारीहरुले भूकम्प प्रतिकार्यको लागि दाताहरुबाट प्राप्त भएको रकम मासिक रुपमा तलब तोकि लिन नमिल्ने ठहरसमेत गरेको थियाे।
साेपश्चात रकम फिर्ता गर्नलाई पूर्वअध्यक्ष थापासहित ६ जनालाई नेरेसोले पत्राचार गरेको थियो। जसमध्ये पूर्वउपाध्यक्ष अजित शर्मा, पूर्वकोषाध्यष देवेन्द्रबहादुर प्रधान र पूर्वउपमहामन्त्री हरी न्यौपानेले प्रथम पत्र प्राप्त गरेपछि रकम फिर्ता गरेका थिए।
यता, पूर्वअध्यक्ष थापा, पूर्वमहामन्त्री देवरत्न धाख्वा र पूर्व केन्द्रीय सदस्य भक्त खवासले रकम फिर्ता गर्न इन्कार गरेकाे नेरेसोले जनाएकाे छ।
नेरेसोका अनुसार थापाले ४५ लाख ६२ हजार पाँच सय रुपैयाँ, धाख्वाले करिब ३३ लाख रुपैयाँ र खवासले १३ लाख ४० हजार रुपैयाँ फिर्ता गर्न बाँकी छ । रकम फिर्ता नगर्ने धाख्वालाई भने नेरेसोले चौथोपटक थप स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण चित्त नबुझे उनलाई थप कारबाही गर्ने नेरेसोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।