काठमाडौं– मनसुन सक्रिय भएसँगै काठमाडौं महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ। महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरियोस् भनेर सुरुमै बाढीजन्य विपद रोकथामको तयारी थालेको महानगरले बताएको छ।
बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भर्याङ, डोरीलगायत सामग्रीको व्यवस्था गरिएको छ। सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत गरिएको महानगरले जनाएको छ।
भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पुर्याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको हो।
महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१०२४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।