फाइल तस्वीर
काठमाडौं– यो वर्ष मनसुन सुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ। विशेषगरी बाढी पहिरोमा परी ती दुई जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
मनसुन सुरु भएयता देशभर बाढी पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने २६ जना वेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ। हाल १९ जना घाइते रहेको मन्त्रालयको भनाइ छ। असार १६ सम्म प्राप्त विवरण अनुसार ४६२ घर पूर्ण क्षति भएका छन् भने ११० घरमा आंशिक क्षति पुगेको छ।
बाढी र पहिरोबाट प्रभावित भएकामध्ये १६ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट कुल २६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४ सयभन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनःनिर्माणलाई उच्च प्राथमिकता दिइएको छ। त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।