काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले नागरिकको सेवा, सुरक्षा र उद्दारमा उच्च मनोबलका साथ खटिन निर्देशन दिएका छन्।
बुधबार चितवनको कुरिनटारस्थित बलको विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा नव–निर्मीत विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै आईजी खनालले नागरिकको सेवा र सुरक्षामा उच्च मनोबलका साथ खटिन निर्देशन दिएका हुन्।
अभिलेख तथा प्रदर्शनी केन्द्रको निर्माणले बलले विपद् व्यवस्थापनको क्षेत्रमा सम्पादन गरेका कार्यहरुको अभिलेखिकरण व्यवस्थित हुनुका साथै प्राप्त गरेको उपलब्धि, प्रयोगमा ल्याएको विभिन्न उपकरणबारे जान्न, बुझ्न र ज्ञान हासिल गर्न चाहने सम्पूर्ण व्यक्तिहरुका लागि भोलिका दिनहरुमा विशेष सहयोग पुग्ने उनले बताए।
भौगोलिक बनावट, भौ–गर्भिक हलचल र संवेदनशिल जैविक विविधता तथा जलवायु परिवर्तनका कारण समग्र प्रकोपको दृष्टिकोणबाट नेपाल अतिनै जोखिमपूर्ण अवस्थामा रहेको र विपद् प्रकोपका घटनाहरुबाट हुने गरेको धनजनको क्षति न्यूनिकरणका लागि सशस्त्र प्रहरी बल खटिन आवश्यक उनकाे भनाइ छ।
उक्त केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल परिचालित भएका विभिन्न विपद्जन्य घटनाहरुमा प्रयोगमा आएका तथा आउने उपकरणहरुको विस्तृत विवरणसहितको भण्डारण, जानकारी तथा प्रदर्शनी, विभिन्न उद्वारका घटनाहरुको श्रब्यदृष्यसहितको विस्तृत अभिलेख राखिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।