काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरेकाे छ।
प्रतिष्ठानमा अनियमितताका घटना बढ्दै गएको भन्दै शुद्धीकरण अभियान चलाएका प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बुधबार प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका हुन्।उनीहरुले बिहान ८ बजेदेखि ११ बजेसम्म प्रतिष्ठान परिसरमा धर्ना समेत दिएका थिए।
प्रतिष्ठानका चिकित्सक स्वास्थ्यकर्मीको बढुवा तथा भत्ताका विषयहरु र प्रतिष्ठानमा भएका अनियमितताका घटना तत्काल छानबिनको माग गर्दै उनीहरु असार १ गतेदेखि आन्दोलनमा छन्।
प्रतिष्ठानको शुद्धीकरण गर्ने उद्देश्यसहित आन्दोलनमा रहेका संयुक्त संघर्ष समितिसँग प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले मंगलबार वार्ता गर्ने भनेपनि मादक पदार्थ सेवन गरी प्रतिष्ठानभित्र आएको भन्दै आन्दोलनरत स्वास्थ्यकर्मी झनै आक्रोशित भएका छन्।
आन्दोलनरत स्वास्थ्यकर्मीले प्रतिष्ठानका असक्षम सम्पूर्ण पदाधिकारीको राजीनामा हुनुपर्ने, प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले नै उच्चस्तरीय वार्ता टोलीको गठन गर्नुपर्ने र आगामी दिनमा पदाधिकारी चयन हुँदा विभिन्न आयोग तथा विज्ञहरुले दिएको सुझाव अनुसार विशिष्टिकृत, तथा विज्ञहरुको समूह बनाई उक्त समुहले सिफारिस गरेको व्यक्तिमात्र चयन हुनुपर्ने वातावरण बनाइनुपर्ने माग समेत गरेका छन्।
उनीहरुले आफ्ना मागहरु एकसाताभित्र सम्बोधन नगरे असार २३ गतेपछि सम्पूर्ण फ्याकल्टी, कर्मचारीहरु, आवासीय चिकित्सकहरु र विद्यार्थीले सामुहिक राजीनामा दिई प्रधानमन्त्री कार्यालय घेर्न काठमाडौं उपस्थित हुने चेतावनी समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।