काठमाडौं– महोत्तरीमा जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ। आजदेखि लागु हुने गरी थपिएको निषेधाज्ञा असार २३ गते मध्यरातसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार थप एक साता निषेधाज्ञाको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।
पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। यस अवधिमा अत्यावश्यक वस्तुका पसल अब बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन्। यसअघिको पछिल्लो आदेशमा दिउँसो तीन बजेसम्म यस्ता पसल सञ्चालनको अनुमति थियो।
त्यसैगरी जिल्लाभरि सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुन सक्ने आदेशमा उल्लेख छ।
पछिल्लो आदेशमा कार्यालय प्रयोजनका दैनिक प्रशासनिक कामका लागि विद्यालय खुल्नेछन्। सङ्क्रमणमा सुधार देखिए पनि अझै जोखिम कायम नै देखिएको हुँदा थप एक साता निषेधाज्ञा अवधि थपिएको आदेशमा उल्लेख गरिएको छ।
थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन र भोजभतेर सञ्चालन र आयोजन गर्न नपाइने स्पष्ट आदेश छ। यसैगरी जिल्ला कट्ने गरी सार्वजनिक भाडाका सवारी साधन पनि चल्ने छैनन् । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।