काठमाडाैं- काठमाडाैं महानगरपालिकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई 'पिक एण्ड ड्रप' प्रणालीमा सञ्चालन गर्ने भएको छ।
महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधनहरु सहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकेर बस्न पाउने छैनन्। साथै, उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङसमेत गर्न पाउने छैनन्।
महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडाैं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो। अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दे आएका थिए। महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा एनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडिको रोडमा नै 'पिक एण्ड ड्रप'को सिस्टम अध्यावधिक गरेर व्यवस्था मिलाउने सहमति भएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए।




उनले भने, 'साविकमा काठमाडाैं महानगरपालिकाकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा काठमाडाैं टावर बनिरहेको छ। त्यसको निर्माण सम्पन्न भएपछि बसपार्क नै बन्ने हो। हामीले अस्थायी रुपमा खुलामञ्चमा सिफ्ट गरेका थियौं। तर खुल्लामञ्चलाई अहिले खुल्लामञ्चकै रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएकाले बसपार्कलाई बन्द गरेर खुल्लामञ्चकै रुपमा प्रयोग गरेर त्यहाँबाट सञ्चालित बसहरुलाई पुरानो 'पिक एण्ड ड्रप' पद्धतिमा (यो भन्दा अगाडि सिटी एरियामा चल्ने आधाभन्दा ज्यादा सवारीसाधनहरु पिक एण्ड ड्रपमा चल्थे) सञ्चालन गर्नका लागि हामीले व्यवसायी साथीहरुसँग बसेर छलफल गर्याैं।'
अहिले सहरी इलाकामा चल्ने यात्रुवाहक सवारीसाधनहरुलाई पिक एण्ड ड्रप सिस्टमबाट सडकको किनारमा लगेर रोक्ने, ओराल्ने, उकाल्ने अनि हिँडाइ हाल्ने निष्कर्षमा पुगेको उनले बताए। 'यो लामो समयसम्म होल्ड गरेर एकै ठाउँमा बस्ने कुरालाई निरुत्साहित गर्ने अभिप्रायबाट हामीले प्रक्रिया अघि बढाएका छौं,' उनले भने।
उनले यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिसँगको लामो छलफल पछि खुल्लामञ्चमा भएको बसपार्कलाई 'सिल्ड' गरेको उल्लेख गर्दे मंगलबारको छलफलमा एनएसीको आसपास, न्युरोड गेट अगाडि र वीर अस्पतालको अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधिक गरेर व्यवस्था मिलाउने सहमति भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।