फाइल तस्बिर
काठमाडाैं- लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधन मंगलबारबाट सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन दुई महिनापछि सञ्चालन हुन थालेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेशअनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन जोरविजोर प्रणालीअनुसार मंगलबारदेखि सञ्चालन हुन थालेका हुन्।
बल्लतल्ल जोरविजोर प्रणालीअनुसार एक दिन बिराएर सवारीसाधन सञ्चालन गर्न पाए पनि काठमाडाैं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि मर्कामा परेको गुनासो चालकहरुले गरेका छन्। सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुर्याउन पनि धौधौ भएको उनीहरुको गुनासो छ। महानगरले तोकिएका बस स्टेसनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समयमात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुँडिखेल वरपरि घुमेको घुमेइ गर्नुपरेको गुनासो चालकले गरेका छन्। उनीहरुले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाए। बूढानीलकण्ठ रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न सरकारले जति भने पनि आफूहरुको दु:ख नसुन्ने गरेको गुनासो गर्छन्।




२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै र अनिवार्यरुपमा भौतिक दूरी कायम गर्दै चलाउन दिइए पनि त्यसभन्दा कम सिट क्षमताका सवारीसाधनलाई अझै पनि सञ्चालनको अनुमति दिइएको छैन। माइक्रोबसका चालक तथा सहचालकहरु राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र उनीहरुको समस्या नबुझेको गुनासो गर्छन्। साथै, काठमाडाैं महानगरले रत्नपार्कबाट बसपार्क हटाउने निर्णय पनि अव्यावहारिक भएको दाबी उनीहरुको छ। बूढानीलकण्ठ रत्नपार्क रुटका सहचालक लिलाराज गिरी वैकल्पिक स्थान नतोकि बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा सवारी चालकहरु पनि समस्यामा परेको बताए।
यसैबीच काठमाडाैं जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जोरविजोर प्रणालीमा ठूला सार्वजनिक सवारीसाधनलाई उपत्यकाका तीन जिल्लामा सञ्चालन गर्न पाउने निर्णय गरेपछि सवारीसाधनहरु तुरुन्तै सडकमा गुड्न थालेका छन्। अटोमोबाइल व्यवसायीहरु भने लामो समयदेखि ग्यारेजमा थन्किएका सवारीसाधन सामान्य मर्मतविना सडकमा निकाल्न नहुने तर्क गर्छन्। अटोमोबाइल व्यवसायी मधुसुधन सिग्देल मेसिनरी सामानहरु सञ्चालन नगरी थन्क्याएर राख्दा विभिन्न पाटपुर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका सवारीसाधनको अवस्था चेक गराएर मात्रै बाहिर निकाल्नुपर्ने बताए। विना चेकजाँच नै सवारीसाधन सडकमा ल्याउँदा दुर्घटना हुनसक्ने भन्दै उनले सबैलाई आ-आफ्ना सवारीसाधनको सामान्य चेकजाँच गराउन आग्रह गरे।
उनले लामो समय सञ्चालनमा नरहेका सवारीसाधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिने भएकाले विना चेकजाँच बाहिर निकाल्दा दुर्घटना हुनसक्ने खतरा औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।