काठमाडौं- कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यकामा बन्द भएका सार्वजनिक यातायात आजबाट सञ्चालनमा आएका छन्।
संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा मंगलबारदेखि थप खुकुलो बनाइएसँगै सार्वजनिक यातायात चल्न थालेका हुन्।
गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन। सोमबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य मापदण्ड पालन गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका थिए।
आजदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन थालिएको हो। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने जनाइएको छ।

उपत्यकाबाहिरबाट सवारी साधन प्रवेशमा लगाइएको रोक भने कायम रहेको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरूवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन र अन्य जिल्लाबाट सवारी पास लिई आएकाबाहेक अन्य सवारीसाधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाउने बैठकले निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।