काठमाडौं– स्थानीयका लागि खाद्यान्नसहित राहतका सामग्री बोकेर गएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहितको टोली जुगल गाउँपालिका–३ तेम्बाथानमा फसेको छ।
केही दिन अगाडिको बाढीले नेपन खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाउँदा जुगल–३ तेम्बाथानमा खाद्य संकट उत्पन्न भएको थियो।
खाद्य संकट उत्पन्न भएको ठाउँमा सोमबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसहितको टोली हेलिकोप्टरमा खाद्य सामग्री बोकेर गएको थियो। उक्त टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) निर्मल कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख सरोज निरौला, स्थानीय पत्रकार निरोज चौलागाईं समेत थिए।

सोमबार पहिलोपटक प्रमुख जिल्ला अधिकारीसहितको टोली र केही राहत बोकेर गएको हेलिकोप्टर त्यहाँबाट फर्किएर पुन: खाद्य सामग्री लिएर गएको थियो।
तेस्रो पटकमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीलाई फिर्ता ल्याउने क्रममा मौसममा खराबी आएपछि हेलिकोप्टर उड्न नसकेको पत्रकार चौलागाईंले जानकारी दिए।

तेम्बाथानमा सडक पुगेको छैन। झोलुङ्गे पुल समेत बाढीले बगाएका कारण त्यहाँबाट पैदल पनि हिँडेर जान सकिने अवस्था नभएको पत्रकार चौलागाईंको भनाइ छ।
यसअघि जुगल गाउँपालिकाका अध्यक्षसहितको टोली पनि राहत लिएर तेम्बाथान पुगेको थियो। मौसम खराबीका कारण हेलिकोप्टर उड्न नसकेपछि गाउँपालिकाका अध्यक्षसहितको टोली पनि १ दिन तेम्बाथानमै रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।