काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज कोशी, कन्काई र यसका स-साना सहायक नदीमा पानीको बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ।
सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, कोशी र यसका स-साना सहायक नदीमा बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ। आज कमला, बागमती, पश्चिम राप्ती, बबईमा बहाब सामान्य तलमाथि हुने तथा सतर्कता तह भन्दा तले हुने पूर्वानुमान रहेको छ।
कन्काई जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब केही बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब हुन सके पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, संखुवासभा, सोलुखुम्ब, भोजपुर, ताप्लेजुङ, प्रदेश २ को महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौँ, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, लुम्बिनी प्रदेशको नवलपुर, दाङ, बर्दिया र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढ आउन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ। नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।