काठमाडौं– मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा उच्च वर्षाको सम्भावना रहेको छ। देशको दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण सोमबार गण्डकी र प्रदेश १ को केही स्थानमा बिहानैदेखि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सोमबार दिउँसो पनि देशभर बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको जनाएको छ। ‘प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ।
महाशाखाका अनुसार राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
आज कोशी, कन्काई र यसका स–साना सहायक नदीमा बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।