काठमाडाैं- टोकियो ओलम्पिकमा सहभागि हुने नेपालसहित दक्षिण एसियाली ५ राष्ट्रका खेलाडीहरुमाथि कडाइ गर्न माग गरिएकाे छ।
डेल्टा भेरियन्टबाट प्रभावित देशका खेलाडी ओलम्पिकका लागि प्रस्थान गर्नुअघि ७ दिनसम्म दैनिक रुपमा कोरोना परीक्षण गर्न जापानी सरकारले माग गरेकाे जापानको चर्चित पत्रिका योमीउरी सिम्बुनले जनाएको हाे।
यो नयाँ नियम नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीका हकमा १ जुनदेखि लागू हुनेछ। यद्यपि, यस पत्रिकाले कुनै स्रोतलाई भने उद्धृत गरेको छैन।
महामारीका कारण एक वर्ष ढिला भएको टोकियो ओलम्पिक २३ जुनमा सुरु हुँदैछ। नेपालबाट १३औं दक्षिण एसियाली खेलकुद (साग)काे जुडोकी कास्य पदक विजेता सोनिया भट्ट सहभागि हुने भएकी छिन्।
यस्तै, सुटिङकी कल्पना परिवार, पौडीकी गौरिका सिंह र एलेक्स शाहले पनि ओलम्पिकमा सहभागिता जनाउने छन्। यस्तै, म्याराथन गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने यसअघि नै पक्का भइसकेको छ।
वाइल्ड कार्ड पाएकी तेक्वान्दो खेलाडी पेलेशा गोवद्र्धनले भने ओलम्पिक पछि जापानमै हुने पारालिम्पिक्समा सहभागिता जनाउने छिन्।
अहिलेको अवस्थामा टोकियो ओलम्पिकमा प्रस्थान गर्नुभन्दा चार दिन पहिले सबै विदेशी खेलाडीले दुई पटक काेराेना परीक्षण गर्नुपर्ने नियम छ।
ओलम्पिक मिनिस्टर टामायो मारुकावाका अनुसार टोकियो आउन साथ युगान्डाको ओलम्पिक टिमका एक सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो।
यी व्यक्तिमा डेल्टा भेरियन्टसँग देखिएकाले खेलका दौरान संक्रमणको नयाँ लहर फैलनसक्ने चिन्ता उनले व्यक्त गरेका थिए।
काेराेना महामारीको बीच आयाेजना हुन लागेकाे ओलम्पिकले जोखिम निम्त्याउने भन्दै कयाैंले विराेध गरिरहेका छन्। तर, अन्तर्राष्ट्रिय ओलम्पिक समिति, टोकियो २०२० आयोजक समिति र जापानी सरकारले खेलहरू सुरक्षित रूपमा सम्पन्न हुने दाबी गरिरहेका छन्।
टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ।
आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ। तर, विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ।
समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ।
यस्तै, दर्शकलाई यताउति नगरी सोझै रंगशालामा जान र रंगशालाबाट बाहिर निस्केर उसैगरी सोझै घरतर्फ जान सुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।