काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थपिने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए।
एक साताका लागि थपिने निषेधाज्ञाको प्रावधान यसअघि जस्तै हुने उनको भनाइ छ। उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ। अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओहरुको संयुक्त बैठकले यसबारे थप निर्णय गर्ने उनले बताए। आजै सीडीओहरुको संयुक्त बैठकसमेत बस्दै छ। सार्वजनिक यातायात सञ्चालनका विषयमा समेत आजको बैठकले केही निर्णय गर्न सक्ने उनको भनाइ छ। ‘निश्चित मापदण्ड बनाएर समर्वजनिक यातायातसमेत जोरबिजोर प्रणालीमा सञ्चाचलन गर्न सकिन्छ,’ उनले भने, ‘यसबारे विस्तृत छलफल गरी बैठकबाट नै निर्णय हुनेछ।’
यसअघि मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ। सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ। सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरेका छन्।
राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ । त्यसमा प्रशासन सकारात्मक देखिएको बताइएको छ। काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।
कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिनसकेको सीडीओ पराजुलीले बताए। ‘सबै क्षेत्र एकैचोटि खुकुलो बनाएर मात्रै हुँदैन,’ उनले भने, चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ । पछिल्लो साताको संक्रमणदर समीक्षा गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।