काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले महामारी काकारण रोकिएका सबै परीक्षा यस वर्ष नै सञ्चालन गर्ने तयारी थालेको छ। कोरोना भाइरसक परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यथाशक्य सञ्चालन गरी क्यालेन्डर मिलाउने तयारी थालेको हो।
गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। सम्भव भएसम्म भाैतिक रुपमै नत्र अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गरेर भए पनि क्यालेन्डर व्यवस्थापन गरिने उनले बताए।
त्रिविको गत वर्ष भदौमा हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा हालसम्म पनि हुन सकेको छैन। पनिकाले स्नातक तह दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गतेदेखि र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि सुरु गर्ने गरी तालिकासमेत सर्वाजनिक गरेको छ। त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका छ।
दशैंअघि २०७७ सालका परीक्षा सम्पन्न गरी दशँैपछाडि २०७८ सालका परीक्षा सुरु गर्ने तयारी पनिकाको छ। दशैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार र दशैँपछाडिको परीक्षामा करिब छ लाख परीक्षार्थी सहभागी हुने विश्वविद्यालयले जनाएको छ।
पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ। कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षाकेन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए। योसँगै त्रिविको परीक्षा दिनकै लागि काठमाडौँ आउने बाध्यतासमेत हटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।