काठमाडौं- अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहँदा प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
त्यस्तै आज राति देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ। नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।