काठमाडौं– चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्ने विषयमा छलफल भएको छ।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बीच शुक्रबार भएको छलफलमा साउन ९ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्न उपयुक्त हुने प्रस्तावमा कुराकानी भएकाे हाे। तर, सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय भने गरेको छैन।
आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार शुक्रबार भएको छलफलमा साउन ९ गतेदेखि परीक्षा सञ्चालन गर्न सकिने सैद्धान्तिक छलफल मात्र भएको जानकारी दिए।
यसअघि आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालनको अनुमति माग गर्दै सीसीएमसीलाई प्रस्ताव पाठएको थियो। शुक्रबार भएको छलफलले आयोगको प्रस्ताव अनुसार परीक्षा सञ्चालन गर्न महामारीको समय कामयै रहेकाले हतारो हुनसक्ने निष्कर्ष पनि निकालेको छ।
‘हामीले २६ गतेदेखि प्रवेश परीक्षा गर्ने भनेर प्रस्ताव गरेका थियौं,’ लुइँटेलले भने, ‘२६ गतेदेखि नहुने भयो, अब साउन ९ गतेदेखि गर्ने भनेर सामान्य छलफल भयो, निर्णय भने अझै भएको छैन। सीसीएमसीले निर्णय गरेपछि मात्र परीक्षा हुन्छ।’
चिकित्सा शिक्षा तर्फको स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षा दिन २५ हजारभन्दा बढी विद्यार्थीले आवदेन दिएका छन्।
आयोगले परीक्षा केन्द्र विद्यार्थीका लागि पायक पर्ने स्थानमा सञ्चालन गर्न काठमाडौं उपत्यका सहित देशका ठूला ५ शहरमा पर्ने परीक्षा केन्द्र विद्यार्थी आफैंले रोज्न सक्ने व्यवस्था समेत गरेको छ।
लुइँटेलका अनुसार काठमाडौं, नेपालगञ्ज, पोखरा, धरान र चितवनका परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा केन्द्र आफैंले छनोट गर्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।