काठमाडाैं– भूकम्पपश्चात् पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकलाई सरकारले व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
पाँच वर्षदेखि कार्यरत झण्डै चार हजार प्राविधिक पुनर्निर्माणका लागि करारमा नियुक्त गरिएको थियो। आगामी आर्थिक वर्षदेखि उनीहरूको नवीकरण नगर्ने सरकारको तयारी रहेको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन्।
३० जिल्लामा कार्यरत प्राविधिक काठमाडौं भेला भएर व्यवस्थापनको माग गरेका छन्। गतवर्षदेखि प्राविधिकले प्राप्त गर्ने भत्तासमेत काटिएको उनीहरुले बताए। पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले करारमा कार्यरत प्राविधिकलाई सेवा थप्ने वचन दिएपनि निर्णय भने नगरेको उनीहरुले बताए।
पुनर्निर्माणमा खटिएका इन्जिनियर,ओभरसियर र सबओभरसियर आफ्नो जागिरको सुनिश्चितताको माग गर्दै आन्दोलनमा उत्रेका हुन्। ‘पाँच वर्ष हामीले करारमा काम गर्यौं। अब हामी कहाँ जाने? हाम्रो व्यवस्थापन हुनुपर्यो भन्ने माग हो।’ आन्दोलनमा उत्रेका प्राविधिक कृष्ण ज्ञवालीले बताए।
दुर्गम भत्ता, यातायात, सञ्चारलगायत प्राविधिकले पाउँदै आएको भत्ता काटिएको उनीहरुको भनाइ छ। आफ्ना माग पूरा नभए सबैले सामूहिक राजीनामा दिने उनीहरुले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।