काठमाडौं- साइबर कानुन विज्ञ बाबुराम अर्यालका दुई छोरी छन्- आहाना र आसियाना। आहाना ६ वर्षकी भइन् भने आसियाना तीन वर्षकी। यी दुई दिदीबहिनीले टेलिभिजनमा हेर्ने विषयवस्तु फरक हुन्छ। आहाना तीन वर्ष हुँदा मन पराउने विषयवस्तु अहिले मन पराउँदिनन्। आसियाना दिदीले हेर्ने विषयवस्तुमा ध्यान दिन सक्दिनन्।
आफूले चाहेको भिडियो हेर्न यी दुईको प्रतिस्पर्धा चल्छ। तर, यसलाई उनका बाबुले उनीहरूमार्फत् नै समाधान गरे।
उनले सानी छोरी आसियानालाई सोधे, ‘मेरो कतिजना छोरी छन्?’
आसियानाले जवाफ दिइन्- दुई जना।
बाबुरामले फेरि सोधे, ‘अनि घरमा टिभी कतिओटा छ?’
आसियानाले जवाफ फर्काइन्- एउटा मात्रै।
‘त्यसो भए अब के गर्ने त?’, बाबुरामले फेरिस प्रश्न गरे।
आसियानाले तोते बोलीमा जवाफ दिइन्- टर्न बाइ टर्न हेर्ने।
इन्टरनेट जोडिएको टेलिभिजनमा यी दुई पालैपालो आफूलाई मन परेका भिडियो हेरेर रमाउँछन्। ‘एउटा भिडियो १० देखि १५ मिनेटको हुन्छ। एउटालाई मन पर्ने भिडियो सकिएपछि अर्कोले हेर्ने। अनि अर्कोको सकिएपछि अर्कोले हेर्ने गर्छन्’, अर्यालले सुनाए।
आफ्नै साना दुई छोरी भएकाले बाबुराम बालबालिकाको इन्टरनेट प्रयोगबारे विशेष ध्यान दिन्छन्। उनी बालबालिकालाई इन्टरनेटले आफूले सिकाउन नसकेका कुरा सिकाउन सकिने बताउँछन्।
अहिले अनलाइन कक्षाका लागि भन्दै बालबालिका अधिक समय इन्टरनेटमा व्यस्त छन्। उनकै छोरीहरू पनि बिहान ९ बजेदेखि नै अनलाइन कक्षामा हुन्छन्। हरेक विषयको कक्षा सकिएपछि स्कुलले ३ देखि ५ मिनेटका लागि स्कृन ब्रेक दिन्छ। र, बीचमा एक घण्टा छुट्टी। यसरी उनीहरूको अनलाइन कक्षा १ बजेसम्म चल्छ। केही समय मनोरञ्जन लिनुपर्दा पनि उनीहरू युट्युबमा भिडियो हेर्छन्। अर्थात्, उनीहरू अधिकांश समय इन्टरनेटमै व्यस्त हुन्छन्। यसले हानी हैन फाइदा पुगेको बाबुरामको भनाइ छ।
उसो भए डिजिटल अपराधबाट बालबालिका कसरी जोगाउने? बालबालिकालाई सही तरिकाले इन्टरनेट चलाउन कसरी सिकाउने भन्ने विषयमा साइबर कानुनका विशेषज्ञ अर्यालसँग नेपाल लाइभका लागि पुष्पा थपलियाले गरेको कुराकानी :
कोरोनाले सिर्जित विषम परिस्थितिपछि बालबालिका इन्टरनेटमा झन् धेरै व्यस्त छन्, यसले केही असर गर्छ कि गर्दैन?
असर गर्छ कि गर्दैन भन्दापनि यसरी बालबालिका इन्टरनेटमार्फत एक्स्पोज हुँदा प्रभाव कस्तो पर्छ भन्दा सकारात्मक सुनिन्छ। म आफैं दुई बालबालिकाको बाबु भएकाले पनि यसले नराम्रो भन्दा राम्रै गरेको पाएको छु।
यो प्ल्याटफर्मबाट जसरी मेरा बालबालिकाले कुराहरू सिकिरहेका छन्, यसबाट म निकै खुशी छु। हामीलाई समेत छक्क पार्ने कुराहरू उनीहरूले इन्टरनेटबाट सिकेका छन्। यसले शारीरिक र मानसिक दुवै पक्षलाई असर त गर्छ नै, सम्भावित जोखिम छ तर गतिलो तरिकाले चलाउन सिकाउने हो भने बालबालिकालाई इन्टरनेटले दिने फाइदा सकारात्मक छ।
तपाइँले कसरी बालबालिकाका लागि प्रयोगमा ल्याउनुभएको छ?
अहिले उनीहरूको स्कुल जाने गतिलो प्ल्याटफर्म बनेको छ। शहरी क्षेत्रमा यो निकै प्रभावकारी छ। गाउँघरतिर यसको अवस्था के छ त्यो भने थाहा भएन। मैले मेरो आफ्नै कथा सुनाउँदा उनीहरूलाई अभिभावकले गाइड गर्नुपर्छ।
उनीहरूको रुचि के मा छ, के गरिरहेका छन् भन्ने कुरा ध्यान दिनुपर्छ। महामारीमा अभिभावक संवेदनशील भए बालबालिकाले सिके, संवेदनशील भएनन् भने सिक्नुको कुरा परै जाओस् झनै समस्याको दलदलमा फस्न सक्छन्।
मेरो ठूली छोरी गीत गाउन मन पराउँछिन्। लिरिक्स पढ्न पनि नआउने समयमा भिडियो र शब्द सुनेर गीत गाउन सिकिन्। मानव सभ्यताको सुरुवात कसरी भयो, डाइनोसर कसरी हरायो भन्नेजस्ता कुरा इन्टरनेटमा देखाउन सकिन्छ। यसले उनीहरूको उत्सुकता बढेर आउने रहेछ। अर्को कुरा, गोलभेडा कसरी उम्रन्छ र फल्छ, जुनकिरी कसरी बल्छ जस्ता कुराहरू उनीहरूलाई देखाउन सकिन्छ। अवश्य पनि उनीहरूलाई भिडियो गेममा रुचि हुन्छ। उनीहरू मनोरञ्जन पनि भिडियोबाटै लिइरहेका हुन्छन् भने, खतरा बढी पनि भिडियोबाटै छ।
छोरीले सुनाएअनुसार, केही भिडियो बच्चाको कन्टेन्ट भएपनि त्यहाँ भुतको कथा हुने, प्रयांकका भिडियो आउने पनि हुन्छ। यसले उनीहरूको दिमागलाई असर गर्नसक्छ। त्यसैले उनीहरू के हेरिरहेका छन् भनेर हिस्ट्रीमा हेर्न सकिन्छ।
युट्युबमा युट्युब किड्स र नर्मल युट्युब छ। त्यसैले उनीहरूलाई ग्याजेट दिँदा युट्युब किड्स राखेर दिनुपर्छ। अहिले स्कुल जान सकेका छैनन्, उनीहरू साथीसँग संवाद गर्ने माध्यम म्यासेन्जर हो। फेसबुकले किड्स म्यासेन्जर बनाएको छ, जहाँ अभिभावकमार्फत् मात्रै त्यसमा जान सकिन्छ।
मेरो ठूली छोरीले सुनाएअनुसार, भिडियो हेर्दा विज्ञानपन आइरहेको हुन्छ। त्यो लिंकमा क्लिक गर्यो भने, प्रयांकका भिडियो आउने, विभिन्न कुरा देखाएर पैसा माग्ने जस्ता ठाउँमा बालबालिका पुग्छन्। त्यसैले उनीहरूलाई त्यस्ता लिंक क्लिक नगर्न सुझाउनुपर्छ।
तीन वर्षको छोरीलाई चाहिँ के देखाउनुहुन्छ?
उही हो। दुवैले हेर्ने कन्टेन्ट एकै भएपनि उनीहरूको रुचि भने फरक हुनसक्छ। यसका लागि समयतालिका बनाइदिने गरेको छु। अनलाइन कक्षा पनि लिइरहेको छ। सानो बच्चाका लागि अनलाइन कक्षा प्रभावकारी हुने र नहुने भन्ने कुरा कस्तो शिक्षक या विद्यालयको अनलाइन कक्षामा छ भन्नेले फरक पार्छ। आफ्नो बालबालिका कसरी हुर्काउने, अनलाइन कक्षा कसरी दिलाउने या इन्टरनेटमा के कस्ता कुरा देखाउने भन्ने कुराको जिम्मा ९५ प्रतिशत अभिभावकको हातमा हुन्छ।
डिजिटल अपराधमा बालबालिकाको संलग्नता बढी छ, न्यूनीकरण कसरी गर्ने?
बालबालिकालको दिमागले के सही के गलत छुट्याउन सकिरहेको हुँदैन। ज्ञान छ तर, त्यसलाई विवेकसंगत प्रयोगको क्षमता हुँदैन। त्यही भएर त बालबालिकाको अपराधमा सजाय हुँदैन, भइहाले पनि कम हुन्छ।
हामी बालबालिकाको उमेर अनुसार तीन तहमा बाँडेर यसलाई हेर्न सक्छौं। ८ वर्षसम्मका बालबालिका, ८ देखि १२ वर्ष सम्मका बालबालिका र १२ देखि १८ वर्षसम्मका बालबालिका।
१२ देखि १८ वर्षको उमेरका बालबालिकालाई हेर्ने हो भने, उनीहरू हरेक कुरामा एड्भान्स हुन्छन् तर विवेक प्रयोग गर्न सक्दैनन्। उनीहरू अपराधमा फस्छन्। उनीहरू जिज्ञासु हुन्छन् र च्यालेन्ज एक्सेप्ट गर्ने प्रकृतिको हुँदा अपराधको दलदलमा फस्ने हुन्। त्यसैले १४ देखि माथिका बालबालिका अपराधमा संलग्न भएका घटना धेरै भेटिएका छन्। ८ देखि १२ वर्षका बालबालिका भने भिक्टिम बनिरहेका हुनसक्छन्। यसलाई समयमै समाधान गर्न सकेन भने उनीहरू झनै फस्दै जानसक्छन्।
समाधान कसरी गर्ने त?
अहिले डिजिटल प्यारेन्टिङको कुरा पनि चलिरहेको छ। त्यसैले बालबालिकामा हुनसक्ने सम्भावित जोखिमबाट जोगाउन अभिभावक, स्कुल लगायत सरोकारवाला सबैले ध्यान दिनपर्छ। बालबालिका मन्त्रालय छ र यसले केही कानुन बनाएको पनि छ। यो सबैको सहकार्यमा इकोसिस्टम भन्छन् नि, हो त्यसैगरी चल्ने कुरा हो।
एउटाले मात्रै गर्छु भनेर मिल्दैन। सिकाइको पहिलो स्थान घर नै हो, त्यसैले अरु भन्दा धेरै जिम्मेवारी अभिभावकले नै लिनुपर्छ। हामी जति सिकाउँछौं त्यति नै बालबालिकाले सिक्ने हो। बालबालिकाले बाटो बिराए भने त्यो जस्तो ठूलो सजाय अभिभावकका लागि केही हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।