काठमाडौं- सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौला रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। उक्त निवेदनमाथि बिहीबार न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुने भएको छ।
संग्रौलासहित उनको समूहका अन्य २ जनामाथि अनुसन्धान गर्न प्रहरीले सोमबार ३ दिनको अनुमति पाएको थियो।
अभद्र व्यवहारको कसुरमा आइतबार पक्राउ परेकी संग्रौलासहितको समूहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो।
महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।
संग्रौलासहित उनको समूहका व्यक्तिले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवकार गरेका थिए। उक्त घटनाका विषयमा समेत छानबिन हुने प्रहरीले जनाएको छ।
सो घटनाबारे मधेशी आयोगमा उजुरी परेको थियो। उक्त उजुरीमाथि आवश्यक कारबाही गर्न आयोगले प्रहरी महानिरीक्षकको सचिवालयमा फाइल पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।