काठमाडाैं- उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरुलाई मासिकरुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार ओलम्पिक डे २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिकरुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुने गरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराए।
‘खेलकुदको विकासका लागि पूर्वाधार पहिलो सर्त हो। खेलाडीलाई मासिकरुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ। म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहन्छु,’ उपराष्ट्रपति पुनले भने।
उनले ओलम्पिक खेलको विकासका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिए। दीर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उनले आग्रह गरे।
‘ओलम्पिक यात्राका लागि हामीले दीर्घकालीन योजनाहरु बनाउनुपर्दछ। कति औँ ओलम्पिकसम्म पुग्दा हाम्रा खेलाडीहरुले समूहचरण पार गरेर ओलम्पिकमा पुग्ने हो र कति औँ ओलम्पिकसम्ममा हामीले पदक जित्ने लक्ष्य राख्ने हो, सरकार, ओलम्पिक कमिटी र सम्बद्ध सबै पक्षले दीर्घकालनीन योजना बनाएर लगानी गर्नुपर्छ,’ उनको भनाइ थियो।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताए।
उनले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।