फाइल तस्वीर
काठमाडौं– गत साताको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीलगायत आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। जिल्लाको पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले सहयोग गरेका हुन्।
पनौतीले मेलम्चीका बाढीपीडितका लागि राहतस्वरुप १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण सङ्कटमा परेका स्थानीयवासीलाई पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग दिने निर्णय गरिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताए।
मण्डनदेउपुर नगरले मेलम्चीलगायत सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ। नगरप्रमुख टोकबहादुर वाइबाले मेलम्ची नगरको ‘मेलम्ची बाढीपीडित तथा पुनःस्थापना कोष’मा रु तीन लाख ५१ हजार, हेलम्बु गाउँपालिकालाई रु तीन लाख र पाँचपोखरी गाउँपालिकाको कोषमा रु तीन लाख आर्थिक सहयोग गरेको बताए।
यस्तै नमोबुद्ध नगरले पनि पालिका–पालिकाबीच सहयोगको नयाँ शुरुआत भएको जनाउँदै मेलम्ची नगरलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ। नगरका जनप्रतिनिधि र कर्मचारीको सेवा–सुविधा तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु तीन लाख तीन हजार ३३३ तथा ६०० केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको हो।
मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीका कारण मेलम्चीलगायत आसपास क्षेत्रमा जनधनको ठूलो क्षति पु¥याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।