काठमाडौं– अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
बाढी तथा पहिरोमा परी मृत्यु हुनेमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १/१ जना रहेका प्रहरीले जानकारी दिएको छ।
बाढी तथा पहिरोमा परेका ८ सय ६ जनाको उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ। मनाङमा ६ सय ५६ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, सल्यान र लमजुङमा ८/८ जना, दाङ र गोरखामा ४/४ जना र कञ्चनपुरमा ३ जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन्। तीमध्ये १३ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला र कास्कीमा २/२ जना, स्याङजा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा १/१ जना रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढी पहिरोमा परी २१ जना अझै बेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना अझै बेपत्ता छन्। बेपत्ता भएकामा १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक पुन: सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ। वर्षाका कारण जुम्ला, कास्की, बैतडी लगायतका स्थानहरुमा सोमबार पहिरो गइ अवरोध भएका सडक हटाउने कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
मनसुन शुरु भएयता भएको वर्षासँगै आएको बाढीका कारण २ सय १० वटा घर डुबानमा परेका प्रहरीले जानकारी दिएको छ। बाढीका कारण २०६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय ३० वटा पशु चौपायको मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।