काठमाडाैं- टोकियो ओलम्पिकमा सहभागिता जनाउन जापान पुगेका युगान्डा टिमका एक सदस्यलाई कोरोना संक्रमण देखिएको छ।
जापान पुगेपछि गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएकाे अलजजिराले जनाएकाे छ। यद्यपि, काेराेना संक्रमितकाे परिचय गोप्य राखिएको छ।
ओलम्पिकका लागि युगान्डा एथ्लेटिक्सका ९ सदस्यीय टिम जापान पुगेका थिए। टोकियोको नरिता एयरपोर्टमा शनिबार ढिलो आइपुगेका उनीहरूले एस्ट्राजेनेका पूर्ण खोप लगाइसकेकाे बताएका थिए। तर, बोर्डिङ हुनुअघि गरिएकाे पीसीआर परीक्षण एक जनामा काेराेना संक्रमण देखिएकाे जनाइएकाे छ।
टोलीका आठ अन्य सदस्यहरू आइतबार बिहान चार्टर्ड बसबाट मध्य जापानको होस्ट टाउन ओसाका लागि प्रस्थान गरेका छन्। जहाँ अझै काेराेना संक्रमितहरु फेला परिरहेका छन्। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।
जापानको राष्ट्रिय प्रशारण एनएचके रेडियोका अनुसार काेराेना संक्रमित व्यक्तिलाई सरकारले बनाएको क्वारेन्टिनमा राखिएकाे छ।
काेराेना महामारीको बीच आयाेजना हुन लागेकाे ओलम्पिकले जोखिम निम्त्याउने भन्दै कयाैंले विराेध गरिरहेका छन्। तर, अन्तर्राष्ट्रिय ओलम्पिक समिति, टोकियो २०२० आयोजक समिति र जापानी सरकारले खेलहरू सुरक्षित रूपमा सम्पन्न हुने दाबी गरिरहेका छन्।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ। औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ। ओलम्पिक कोरोना महामारीको कारण एक वर्ष ढिला आयोजना हुन लागेको हो।
टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ।
आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ। तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ।
समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ।
यस्तै, दर्शकलाई यताउति नगरी सोझै रंगशालामा जान र रंगशालाबाट बाहिर निस्केर उसैगरी सोझै घरतर्फ जान सुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।