काठमाडौं– निषेधाज्ञा खुकुलो भएर निजी सवारी साधन (दुई पाङ्ग्रे) समेत जोर–बिजोर नम्बरका आधारमा चल्ने भएपछि काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवा पुनः शुरु हुने भएको छ।
राइड सेयरिङ कम्पनी पठाओले मंगलबारदेखि आफ्नो सेवा पुनः शुरु गर्न लागिएको जनाएको छ। नेपालमा सक्रिय रहेका अन्य राइड शेयरिङ कम्पनीले पनि आफ्नो सेवा पुनः शुरु गर्ने जनाएका छन्।
राइड शेयरिङ कम्पनीहरुले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर सेवा प्रदान गरिने जनाएका छन्।
कोराना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएसँगै राइड शेयरिङ सेवा पनि बन्द भएको थियो।
तर, काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले मंगलबार (असार ८ गते)देखि यसअघिका प्रतिबन्धलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा जारी राख्ने निर्णय गरेका हुन्।
तीन जिल्लाका सीडीओहरुको निर्णयानुसार मंगलबारदेखि काठमाडौं उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोर नम्बर प्रणालीका आधारमा चल्न पाउनेछन्। अबको निषेधाज्ञामा दुई पाङ्ग्रे सवारीका साधनमा २ जनासम्मले यात्रा गर्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।