काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन पुष्टि भएको छ। ४८ वटा नमूनाहरू परीक्षण गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूनाहरू विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा पठाइएको जनाएको छ।




उक्त नमूनाहरूको जिनोमिक पहिचानगर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ। ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७ एन म्यूटेसन भेटिएको छ जसलाई एवाई.१नाम दिइएको मन्त्रालयले जनाएको छ। हाल सम्म यो म्यूटेसन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ। यी सहित हालसम्म नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा 'भेरियन्ट अफ इन्ट्रेस्ट' का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ। यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले संक्रमण रोक्न सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।