काठमाडौं- विभिन्न चार संस्थाले प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यथार्थ तथ्यांक संकलन, राहत तथा क्षतिपूर्ति, स्वास्थ्योपचार, उचित बसोबासको व्यवस्था र दिगो आवासको सुनिश्चितता गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, फियान नेपाल, खाद्यअधिकारका लागि राष्ट्रिय सञ्जाल र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जालले संयुक्त विज्ञप्ति जारी गरी संघ, प्रदेश र स्थानीय सरकारलाई उक्त आग्रह गरेको हो।
‘बाढीपहिरो, डुबानजस्ता वर्षेनी दोहोरीरहने यस्ता विपत्ति र विपत्तिबाट सयौं नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था, घरबारविहीन हुनुपर्ने अवस्थाको यथार्थतालाई ध्यान दिँदै क्षतिलाई न्यूनीकरण गर्न प्रकृतिक प्रकोपबाट जोगिन आवश्यक पूर्वतयारीका योजनामा राज्यले लगानी गर्ने र क्षति कम गर्ने उपायहरू अवलम्बन गर्नुका साथै दिगो विकास र वातावरणमैत्री विकास अभ्यास अवलम्बन गर्न गराउनसमेत हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
साथै, विपद्को घडीमा मानवीय सहयोगको उच्चतम् भावनाका साथ उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जुट्नसमेत सबैसमक्ष अपिल गरिएको छ।
एक हप्ता अगाडिदेखि परिरहेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका कारण सिन्धुपाल्चोक, मनाङ, बाजुरा, डोटी, कास्की, बागलुङ, मनाङ, पर्वत, पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासीलगायतका जिल्ला प्रत्यक्षरूपमा प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।