काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिन्धुपालचोकले आफूखुसी मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै राहत वा चन्दा सहयोग संकलन गरेमा जरिवाना गर्ने बताएको छ।
त्यसैगरी, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा दुई वर्ष कैद तथा एक लाख रुपैयाँसम्म जरिवाना गराउने चेतावनी प्रशासनले दिएको हो ।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय गरिने प्रशासनको सूचनामा उल्लेख छ।
त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन अनुरोध गर्दै प्रशासनलेकसैले यस्तो गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोधसमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।
राहतको नाममा अनावश्यक रुपमा सहयोग संकलन गर्ने र त्यसको दुरुपयोग बढ्ने सम्भावना रहेकाले यस्तो व्यवस्था गरिएको सहायक प्रजिअ खनालले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।