फाइल तस्वीर
काठमाडौं– यसपटक नेपालमा मसनुन भित्रिनासाथ उच्च हिमाली क्षेत्रमा अपत्यारिलो वर्षा भएको मौसमविदहरुको भनाइ छ। यसअघि पानी कम पर्ने क्षेत्र मानिने मनाङ र मुस्ताङमा विगतका भन्दा फरक र अपत्यारिलो वर्षा भएको मौसमविद् बताउँछन्।
यस वर्ष मनसुनको सुरुवातमै उच्च हिमाली क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण मनाङ, मुस्ताङ तथा सिन्धुपाल्चोकमा असार १ गते नै बाढीपहिरोका कारण अकल्पनीय क्षति भएको छ।
यसअघि मनाङ क्षेत्रमा वर्षमा औसत दुई सय मिलिलिटर पानी पर्ने गरेको बताउँदै जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विक्रम श्रेष्ठले यसै साता दुई दिनमा एकसय ८० मिलिलिटरसम्म पानी परेको जानकारी दिए।
मनसुनमा देखिएको परिर्वतनबाट जल तथा मौसम विज्ञान विभागले समेत नयाँ विषयको पाठ सिक्ने मौका पाएको श्रेष्ठले बताए। ‘हामीले बनाएका योजना र रणनीतिभन्दा फरक भएको छ,’ उनले भने, ‘हामी आउने वर्षदेखि नयाँ योजना बनाएर अघि बढ्नेछौं।’
मौसमविद्हरुका अनुसार पश्चिम बंगालको खाडीबाट आएको तातो हावा पहाडमा ठोकिएर पानी पर्ने गर्छ तर यो वर्ष हिमालमा ठोकिँदा सो क्षेत्रमासमेत पानी परेको छ । त्यसैले हिमाली क्षेत्र मनाङ, मुस्ताङमा औसत भन्दा बढी पानी परेको महाशाखाले जनाएको छ।
हिमाली क्षेत्रमा १० मिनेटमा पानीको मापन गर्ने गरेको जनाउँदै महाशाखाले खोलानाला, नदीमा पानीको सतह वृद्धि हुँदा सर्तकता अपनाउनसमेत अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।