काठमाडाैं- अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले धादिङको नीलकण्ठ सवडिभिजन वन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेललाई घुसबापत लिएको ४० हजार रुपैयाँसहित पक्राउ गरेको छ।
सेवाग्राहीसँग घुस लिएर गैरकानुनी काम गरेको आरोपमा पौडेललाई अख्तियारको टोलीले नगदसहित पक्राउ गरेको हो। आयोगको टोलीले आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको जनाएको छ।
गोप्य उजुरी निवेदनको आधारमा छापा मार्न पुगेको अख्तियार टोलीले कार्यालय प्रमुख पौडेललाई पक्राउ गरेको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठ नियन्त्रणमा लिई अनुसन्धान गर्ने भन्दै पौडेलले ४० हजार रुपैयाँ नगद मागेर कागजपत्र मिलाउँदै गरेको अवस्थामा पक्राउ परेको आयोगले जनाएको छ।
पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको आयोगले जनाएको छ। उनीमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम अनुसन्धान गरी भ्रष्टाचार मुद्दा दायर गरिने आयोगको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।