काठमाडौं- अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आइतबार दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा ११ पुरुष, ४ महिला, २ बालक र १ जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा ४, डोटीमा ३, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १/१ जना रहेका छन्।
बाढी, पहिरो र डुबानमा परी १९ जना घाइते भएका छन्। तीमध्ये १२ पुरुष, ४ महिला, १ बालक र २ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५, म्याग्दी र डोटीमा ३/३, जुम्ला र कास्कीमा २/२, स्याङजा, चितवन, सल्यान र दार्चुलामा १/१ जना रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन्। तीमध्ये १४ पुरुष, ५ महिला र २ जना बालक रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० र बाजुरामा १ जना रहेका छन्। बेपत्ताको खोजी कार्य जारी छ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४, सल्यानमा ८, दाङमा ४ र कञ्चनपुरमा ३ गरी १ सय ९ जनाको उद्दार गरिएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ। साथै वर्षाको कारण बझाङ, कालिकोट, बैतडी लगायतका स्थानहरुमा पहिरो गएर अवरुद्ध भएका सडकहरुकाे अवरोध हटाउने कार्य जारी छ।
बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन्। २ सय ५ घर, ११ गोठ, १८ पुल, ३ विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय २९ वटा पशु चौपायको मृत्यु भएको छ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।