काठमाडाैं- साताको पहिलो दिन आइतबार सेयरबजारमा उच्च अंकको गिरावट आएको छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३.११ अंकले घटेको हो। आइतबार बजार बन्द हुँदा नेप्से २९०५.३२ विन्दुमा रोकिएको छ।
लगातार बढिरहेको नेप्से धितोपत्र बोर्डले सेयर मूल्यमा चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि उच्च अंकले घट्दै आएको छ। आज पनि घट्ने क्रमले निरन्तरता पाएको हो।
नेप्सेमा आज ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा आज कूल २३१ वटा कम्पनीका दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर एक लाख २८ हजार २८१ पटक खरिद-बिक्री भएका थिए।
आज गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ५.४१ प्रतिशतका दरले कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.८१ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै ८० करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.५७ अंकले घटेर ५२८.५५ विन्दुमा कायम भएको छ। साथै, सबै समूहका परिसूचक घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।