काठमाडाैं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची-इन्द्रावती क्षेत्रमा आएको बाढीपहिरो प्रभावितहरुको राहत, पुनर्वास तथा पुनर्स्थापना र पुनर्निमाणका लागि सहयोग गर्न अपिल गरेको छ।
नगरप्रमुख डम्बरबहादुर अर्यालले आइतबार विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई सहयोगको अपिल गरेका हुन्। असार १ गते मेलम्ची र इन्द्रावती खोलामा आएको भिषण बाढीले त्यस क्षेत्रमा पर्ने हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकामा व्यापक जनधनको क्षति पुर्याएको छ विज्ञप्तिमा उल्लेख छ।
मेलम्ची नगरपालिकामा मात्रै यस बाढीबाट हालसम्म करिब ५०० परिवार विस्थापित भएको प्रारम्भिक तत्थ्यांक प्राप्त भएको जानकारी दिइएको छ। 'वर्षातको मनसुनसँगै इन्द्रावती र मेलम्ची खोलाले अझै थप कटानगरी क्षति पुर्याउने क्रम जारी नै छ। मेलम्ची नगरपालिकाको गौरवको आयोजनाहरु मेलम्ची सिटी पार्क, मेलम्ची बस पार्क, फोहोरमैला प्रशोधन केन्द्र लगायतका अर्बाैंका योजनाहरु बाढीले नामा निशानासमेत नरहने गरी बगाएको छ भने यस क्षेत्रको सडक, पक्की पुल, झोलुङ्गेपुल, खानेपानी, सिँचाइ कुलो जस्ता सार्वजनिक संरचनाहरुमा ठूलो क्षति पुर्याएको छ,' नगरपालिकाले भनेको छ।
नागरिकको नजिकको सरकारको हैसियतले बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत, पुनर्वास तथा पुनर्स्थापनाको जिम्मेवारी रहेको र सार्वजनिक संरचनाहरुको पुनर्निमाण गरी जनजीवनलाई सामान्य बनाउनुपर्ने अर्को दायित्व थपिएको भन्दै नगरपालिकाले अन्य स्थानीय तहहरुसँग सहयोग याचना गरेको छ।
'यो संकटको घडीमा हामी सम्पूर्ण स्थानीय तहहरुबीचको भाइचाराको सम्बन्धलाई अझै प्रगाढ बनाउदै एक अर्काको दुःखमा सहयोग गर्ने हाम्रो परम्परालाई निरन्तरता दिँदै आ-आफ्नो क्षमता अनुसार मेलम्ची बाढी पीडित राहत तथा पुनः स्थापना कोषमा आर्थिक सहायता जम्मा गरिदिनुहुन हार्दिक अपिल गर्दछौं,' नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।