काठमाडौं– कृषिको आधुनिकीकरणविना देश समृद्ध बन्न नसक्ने सरोकारवालाको भनाइ छ। परम्परागत तथा निर्वाहमुखी खेतीबाट देशलाई समृद्ध बनाउन नसकिने भएकाले कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणमा जानैपर्नेमा उनीहरूको जोड छ।
कृषि विभाग र नेपाल कृषि महासंघको संयुक्त आयोजनामा दुई दिनसम्म सञ्चालन भएको ‘समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण’ गोष्ठीमा सहभागी कृषि विज्ञहरूले देशको आर्थिक वृद्धिको मेरुदण्ड कृषि रहेकाले त्यसमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए।
शनिबार कार्यक्रमको समापन गर्दै कृषि विभागका महानिर्देशक गोविन्द शर्माले कृषिका सकारात्मक कुरालाई आत्मसात् गरी अगाडि बढ्नुपर्ने बताए। कृषिमा नकारात्मक कुरा सुनिने भए पनि सकारात्मक कुरा पनि थुप्रै रहेका हुनाले त्यसलाई आत्मसात् गरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
कृषिलाई आधुनिकीकरण नगरेसम्म गरिबी निवारण तथा देश समृद्धि नहुने बताउँदै उनले यिनै कुरालाई मनन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। समृद्ध नेपालका लागि मुख्य स्रोत कृषि नै भएको कुरा यो गोष्ठीले निष्कर्ष निकालेको बताउँदै उनले आधुनिकीकरण, यान्त्रिकीकरणबिना कृषि विकास र समृद्ध नेपालको कल्पना गर्न नसकिने दाबी गरे।
गोष्ठीबाट प्राप्त सुझावहरू आगामी दिनमा कृषि क्षेत्रको नीति तथा कार्यक्रम तर्जुमाका साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको महानिर्देशक शर्माले बताए। शुक्रबारदेखि भचूृअल रुपमा सुरु भएको गोष्ठीमा विभिन्न क्षेत्रमा कार्यरत विज्ञबाट पाँचवटा विषयमा कार्यपत्र र १० वटा सहायक कार्यपत्र प्रस्तुत भएका थिए।
कार्यशालामा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विश्वविद्यालयहरू कृषि अनुसन्धान परिषद् (नार्क), पशु सेवा विभाग र मातहत निकायहरू, कृषि तथा प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहत निकायहरू प्रदेशबाट प्रतिनिधित्व गर्ने कृषि उद्यमीहरूसमेत गरी १५० भन्दा बढीको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।