काठमाडाैं– कास्कीको मादी गाउँपालिकामा केही दिनअघिको बाढी पहिरामा परी विस्थापित भएकाको पुनःबासको व्यवस्था गर्न माग गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गाउँ कमिटीले ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल विस्थापितको पुनःबास, पीडितको संरक्षण, उद्धार तथा राहत वितरणको माग गरेको हो। साथै, मादी नदी नियन्त्रण गर्न तटबन्धको मागसमेत गरेको माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष कृष्णराज दाहालले बताए।
बाढीबाट मादीमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा नोक्सानी पुगेको भने पोल ढल्दा गाउँहरु बिजुलीबाट वञ्चित रहेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी सञ्चालन ठप्प रहेकाले अविलम्ब सडक खुलाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको थियो।
सो अवसरमा मुख्यमन्त्री नेपालीले तत्काल गर्न सकिने काम तुरुन्त सुरु गर्ने र दीर्घकालीन महत्त्वका कार्यलाई योजनामा समेटिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।