काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले चीनमा पहिरो हटाउने कार्य सुरु भएकोले तामाकोशी नदी वरपर बसिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेकाे छ।
शनिबार सामाजिक सञ्जालमार्फत् महाशाखाले उक्त जानकारी दिएको हो। ‘नेपाल–चीन सीमा क्षेत्रमा भारी वर्षा आएसँगै चिनियाँ क्षेत्रमा पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोमा हालसम्म तामाकोशीको बहाव उल्लेख्य मात्रामा घटेको वा बढेको छैन,’ महाशाखाले भनेको छ।
चीनमा पहिरो हटाउने कार्य सुरु भएको जानकारी आएकोले हाल तामाकोशी जलविद्युतको बाँधसमेत खाली गरिएको सुचनामा जनाइएकाे छ। यस्तै तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाई राख्न पनि महाशाखाले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै नेपाल -चीन सीमा क्षेत्रमा रहेको टिङ्ग्री काउन्टी, रोङजिया शहर र त्यस आसपासमा भारी वर्षासँगै पहिरो आउँदा नदिको प्रवाह रोकिएकोले जनाएकाे थियाे।
कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउनसक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्तीलगायत तामाकोशी नदिको तटिय क्षेत्रमा जोखिम सृजना हुनसक्ने सम्भावना देखिएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।