काठमाडाैं- आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ अर्थात् भदौ १३ देखि २० गतेसम्म आयोजना हुने २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित १२ टिमले प्रतिस्पर्धा गर्ने एसियन भलिबल कन्फ्रेडेरेसनले जनाएको हाे।
यसअघि च्याम्पियनसिप चीनमा आयोजना हुने पक्का भएकाे थियाे। जसमा १६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो। तर, काेराेना महामारीपछि चीनले आयोजकबाट नाम फिर्ता लिएपछि फिलिपिन्सले आयाेजनाकाे जिम्मेवारी पाएकाे हाे।
फिलिपिन्स आयाेजक भएकाे नाताले एक टिम थपिएकाे थियाे। तर, काेराेना महामारीलाई देखाउँदै १५ मध्ये चीनसहित इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्याण्डले नाम फिर्ता लिएका छन्।
अब १२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्नेछन्। नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको हो।
नेपालका अलवा आयोजक फिलिपिन्स, इरान, अष्ट्रेलिया, भारत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, कजाकस्तान, ताइपेई, उज्वेकिस्तान र हङकङले भाग लिने पक्का भएकाे छ।
नेपाली महिला टिमले असार १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बन्द प्रशिक्षण शुरु गरिसकेको छ। बन्द प्रशिक्षणमा गत चैतमा भएको एनभीए कपमा गरेको प्रदर्श गरेका ३० सहित ५ जना वैकल्पिक खेलाडी छन्।
प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी, न्यू डायमण्ड, पुलिस र एपीएफबाट समान ७-७ खेलाडी परेका छन्। यस्तै, भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन्।
आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन्। यस्तै, न्यू डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेकी छिन्।
यस्तै, वैकल्पिक खेलाडीमा न्यू डायमण्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही, भरतपुरकी आरती सुवेदी, निशा चौधरी र नेपाल पुलिसबाट पुष्पा चौधरी छिन्।
यस्तै, संघले प्रशिक्षकमा जगदिश भट्ट र म्यानेजरमा निरोज मास्केलाई छन्।
नेपालको महिला टिमले २०७६ सालमा भएको पहिलो एभीसी सेन्ट्रल जोनको उपाधि जितेकाे थियाे। त्यही वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो।
बन्द प्रशिक्षणमा परेका खेलाडी
नेपाल आर्मी : सोफिया पुन, सुनीता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो।
न्यू डायमण्ड : प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर , झरना श्रेष्ठ, वाल्मीका आचार्य।
एपीएफ : सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी।
नेपाल पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द।
भरतपुर : सरस्वती कट्टेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।